Skip to main content

बा (बंशज) सुबेदार दुर्गबहादुर

 



पुस्तकको प्रस्तावना/आभार (Preface / Acknowledgment)

  • किन यो पुस्तक लेख्न लागिएको हो

  • बुवाप्रतिको सम्मान र प्रेरणा

  • सामग्री सङ्कलनमा सहयोग गर्नेहरूप्रति आभार


🔹 अध्याय १: वंश र पूर्वजहरूको सन्दर्भ

  • पाण्डे वंशको परिचय

  • पुर्ख्यौली वृतान्त 

  • अर्घाखाँचीको भौगोलिक र सांस्कृतिक पृष्ठभूमि

  • बुबाका हजुरबुबा–हजुरआमा, पुर्खाहरूको योगदान


🔹 अध्याय २: बाल्यकाल र शिक्षाको यात्रा

  • बुबाको जन्म (२००५ असोज ३०) र बाल्यकालीन जीवन

  • गाउँको वातावरण, विद्यालय जीवन

  • बाल्यकालका रमाइला, संघर्षपूर्ण पलहरू


🔹 अध्याय ३: भारतीय सेनामा प्रवेशको कथा

  • कसरी सेना प्रवेशको प्रेरणा मिल्यो?

  • छनोट प्रक्रिया, प्रारम्भिक तालिम

  • परिवार, गाउँलेहरूको प्रतिक्रिया


🔹 अध्याय ४: सैनिक जीवनका अनुभवहरू

  • विभिन्न पोस्टिङ, तालिम र युद्धकालीन अनुभवहरू

  • भारत र अन्य देशका भ्रमण, सैन्य अनुशासन

  • सुबेदारसम्मको यात्रा, सम्मान, पुरस्कार


🔹 अध्याय ५: परिवार र सामाजिक जीवन

  • आमा/श्रीमतीसँगको विवाह र पारिवारिक जीवन

  • सन्तान (जस्तै तपाईं - अशोक पाण्डे), बुबाको पितृत्व

  • गाउँ फर्किएपछि सामाजिक भूमिकाहरू

  • ४. सुबेदार दुर्गबहादुर आनी बानी

    ५. बुवा (जित बहादुर) बाट प्राप्त स्नेह 

    ६. बुवाका बाल सखाहरू 


🔹 अध्याय ६: अवकाशपछि ग्रामीण सेवामा योगदान

  • भारतीय सेना अवकाशपछि नेपाल फर्किएपछि भूमिका

  • गाउँमा पुर्नस्थापना, कृषिका कामहरू, सामाजिक नेतृत्व

  • स्थानीय मन्दिर, विद्यालय, मेलामा संलग्नता


🔹 अध्याय ७: आदर्श, अनुशासन र मूल्यहरू

  • उहाँका जीवन दर्शन, विचार र आत्मनिष्ठा

  • बुवाबाट सिकिएका मूल्यहरू (अनुशासन, निष्ठा, देशभक्ति)

  • छोराका आँखाबाट बुबा


🔹 अध्याय ८: संस्मरण र प्रमाणहरू

  • बुबासँग सम्बन्धित पत्रपत्रिका, प्रमाणपत्र, तस्बिरहरू

  • सेना सेवा प्रमाण, पदक, सम्मानपत्रहरू

  • छिमेकी, सहकर्मी वा परिवारका अन्य व्यक्तिको सम्झना


🔹 अध्याय ९: प्रेरणा दिने पात्रको रूपमा ‘बा’

  • पुस्तकबाट भावी पुस्तालाई दिइन सक्ने सन्देश

  • देशसेवा, निष्ठा र सरल जीवनको उदाहरणस्वरूप बुबा

  • परिवार र समुदायको लागि ‘बा’ को महत्त्व


🔹 अध्याय १०: समापन विचार

  • लेखकको अनुभूति (Ashok Pandey को आत्मीय प्रतिबिम्ब)

  • भावी पुस्तालाई आह्वान


परिशिष्ट (Annexes)

  • तस्बिरहरू (बाल्यकालदेखि हालसम्म)

  • सेना जीवनका प्रमाणपत्रहरू

  • पत्रहरू (यदि छन् भने)

  • साक्षात्कारहरू (आफन्त, सहकर्मी आदि)

  • कविता, बुबाले लेखेका भनाइ/सूक्ति



  • किन यो पुस्तक लेख्न लागिएको हो

जीवनका हरेक मोडमा हामी कसै न कसैको सम्झनामा बाँधिएका हुन्छौँ। ती सम्झनाहरूमा यदि कसैको छायाँ प्रखर रूपमा रहिरहन्छ भने त्यो हो—बुबाको। म, अशोक पाण्डे, यो पुस्तक "बा (वंशज) सुबेदार दुर्गबहादुर" उहाँप्रतिको श्रद्धा, सम्मान र स्नेह स्वरूप लेख्दै छु। यो केवल अवकाशप्राप्त भारतीय सेनाका सुबेदारको जीवनी होइन, यो एउटा युगको कथा हो—जहाँ राष्ट्र, परिवार, धर्म र मूल्य बोधका लागि जीवन अर्पण गरियो। पाण्डे वंशको इतिहास, गाउँको सामाजिक संरचना, बाबाले भोगेका सङ्घर्ष, बाँचेका सपना, नसुकेका घाउ र सुकिसकेका सम्झनाहरूलाई समेटेर आगामी पुस्ताका लागि एउटा दस्ताबेजको रूपमा यसलाई तयार पार्दै छु।

पाण्डे वंशले अर्घाखाँचीको मालारानीमा पौराणिक योगदान पुर्‍याउँदै आएको छ। यहाँको भौगोलिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक परम्पराहरूको गर्भमा हामी हुर्कियौँ, जहाँ धर्म, कर्म, रीतिरिवाज र सामूहिक भावना बलियो थियो। बाका हजुरबुबा–हजुरआमाको कथाहरूबाट हामीले पुर्ख्यौली गौरवलाई महसुस ग-यौँ। हामीले मनाउने चाडपर्व—दसैँ, तिहार, माघे सङ्क्रान्ति—सिर्फ परम्परा होइनन्, ती परिवार र समुदायबिचको भावनात्मक ऐक्यबद्धताको प्रतीक थिए। त्यही परिवेशमा बाले जीवनका मूल्यहरू सिक्नुभयो, जसले उहाँलाई निष्ठावान् सैनिक र सामाजिक मार्गदर्शक बनायो।

बुबाको अनुशासन, मितव्ययिता, धर्म निष्ठा, र समाजप्रतिको उत्तरदायित्व मैले आफ्नै आँखाले देखेको छु। उहाँको मौनता कहिल्यै कमजोरी बनेन, बरु गहिरो अनुभूतिको स्रोत बन्यो। आज जब म उहाँका अनुभूति, व्यवहार र शिक्षालाई शब्दमा उतार्ने प्रयत्न गर्दै छु, म त्यो समयको दस्ताबेज लेख्दै छु, जुन बोल्दैन, तर गहिरो रूपमा जीवनलाई चलायमान बनाउँछ। समयले बुबालाई बनायो, बुबाले हामीलाई। अनि अब मेरो पालो हो—बुबालाई अक्षरमा बाँध्ने, ताकि उहाँको कथा केवल हाम्रो परिवारको होइन, यो समाजको साझा गौरव बनोस्।



  • बुवाप्रतिको सम्मान र प्रेरणा

बुबाप्रतिको सम्मान केवल स्मृतिमा सीमित हुनु हुँदैन, उहाँ बाँचुन्जेल विश्वास, भरोसा र गौरवको अनुभूति हुनु पर्छ। मरेपछि बनाइने आदर्शभन्दा बाँच्दाको योगदानलाई चिनेर सम्मान गर्नु नै साँचो कर्तव्य हो भन्ने मान्यताबाट प्रेरित भई यो पुस्तक लेख्न लागेको हुँ। म, अशोक पाण्डे, बुबा सुबेदार दुर्गबहादुर पाण्डेप्रतिको नतमस्तक श्रद्धासहित उहाँको जीवनी शब्दमा उतार्ने प्रयास गर्दै छु। वि.सं. २००५ सालको असोज ३० गते, माता तुलसी देवीको कोखबाट जन्मनुभएका बुबालाई यो जीवनकालमै छोरोको एउटा सानो तर अर्थपूर्ण कर्तव्यबाट सम्मान गर्न चाहन्छु। उहाँको अनुशासन, कर्तव्य निष्ठा, न्यानोपन र मौनताभित्रको गहिरो प्रेमले मलाई बारम्बार छुन्छ, र ती भावनाहरूलाई अब मैले पुस्तकमा रूपान्तरण गर्दछु।

सुरुवातमा मैले ‘पाण्डे वंशावली’ सम्बन्धी किताब लेख्ने उद्देश्य राखेको थिएँ। तर, अर्घाखाँचीकै प्राज्ञ पाण्डेय सरले पाण्डे वंशको १२०० पृष्ठको दस्तावेजी किताब लेखिसक्नुभएको रहेछ। त्यसैले मैले त्यसलाई दोहोऱ्याउनुको सट्टा आफ्नै पिताको जीवन, वंश, समाज र त्यसको परिधिमा बाँचेको अनुभवलाई केन्द्र बनाएर पुस्तक लेख्ने निर्णय गरेँ। यो नितान्त व्यक्तिगत, तर सामाजिक अर्थ बोकेको लेखनी हुनेछ। वि.सं. २०७० सालतिरको कुरा हो—डॉ. पौडेलसँग अर्घाखाँचीको बलकोटमा भेट भएको थियो। त्यो समय म स्नातक पढाइ सकेर क्षयरोगसम्बन्धी अध्ययनका क्रममा त्यहाँ पुगेको थिएँ। उहाँसँग वंशको बारेमा कुरा हुँदा मेरो चासो बढ्दै गयो—म कुन पाण्डे हो? मेरो मूल वंश कहाँबाट आयो? भन्ने जिज्ञासाले मनभरि ओकरेको थियो। डॉ. पौडेलले मलाई अनुहार हेरेरै भन्नुभयो—"तपाईँ बाहुन वंशका पाण्डे हुनुहुन्छ होला," त्यो संवाद अझै मेरो स्मृतिमा ताजा छ।

त्यही साल दसैँको आसपास सन्धिखर्कमा पाण्डे वंशावलीको किताब विमोचन कार्यक्रम हुँदै थियो। मलाई पनि निमन्त्रणा गरिएको थियो, तर जान सकिन। किनभने त्यो समयसम्म म पूर्णतः बुबामा निर्भर थिएँ। आर्थिक, भौतिक र पारिवारिक सन्दर्भमा स्वायत्तता थिएन। सन्धिखर्क सम्मको यात्रा सजिलो थिएन, बुबाको अनुमति बिना म कुनै निर्णय गर्न सक्ने अवस्थामा पनि थिइनँ। त्यही अवधिमा म अमलाचौरस्थित बागी गएँ, जहाँ मेरा हजुरबुबा (… पाण्डे) बस्नुहुन्थ्यो। उहाँसँग वंशका बारेमा सोध्दा भन्नुभयो, “हामी गोल होइनौँ, गोलखाडा पनि होइनौँ, गोड्कुमबाट आएका हौँ।” उहाँका कुरा टिपोट गरेँ, तस्बिर खिचेँ। केही वर्षपछि उहाँ दिवङ्गत हुनुभयो। त्यो खबरले मन थाम्न मुस्किल भयो। उहाँको सम्झनाले अझै पनि भिजाउँछ। आज म बाले दिएको शिक्षा, संस्कार र अनुशासनलाई सम्झँदै छु—यो केवल मेरो भावुकता होइन, एक सामाजिक कर्तव्य हो।

यस पुस्तकमा मैले केवल एउटा छोरोले आफ्नो बुबाको जीवन, आफ्नो वंश र त्यसले बोकेको सामाजिक परिवेशको गहिरो अनुभूति लेखेको छु। यसमा न कुनै पूर्वाग्रह छ, न अन्ध-प्रशंसा; न त कुनै नकारात्मक धारणाको ठाउँ। मैले जे भोगेँ, बुझेँ, देखेँ, सुनेँ—त्यो यथार्थलाई सजगता र सम्मानपूर्वक प्रस्तुत गर्ने प्रयास गरेको छु। बुबाको योगदान, उहाँले दिएको शिक्षा र जिन्दगीका मूल्यहरूलाई लिपिबद्ध गर्नु मेरा लागि गर्वको विषय हो। सायद यही नै एउटा छोराले बा आमाप्रति पुर्‍याउने साँचो श्रद्धा हो।

यो लेखन यात्रा मेरो लागि भावनात्मक यात्रासँग पनि जोडिएको छ। 'बा' भन्ने शब्द केवल एक सम्बोधन होइन, मेरो जीवनको मेरुदण्ड हो। उहाँको न्यानो, अनुशासन र मौन मार्गदर्शनबिना म आज म हुँदैन थिएँ। आज म शब्दमा उहाँको जीवनको रेखाङ्कन गरिरहेको छु—तर यो केवल एक व्यक्तिको कथा होइन, यो पाण्डे वंश, गाउँ–समाज, र एउटा पुस्ताको इतिहास हो, जसले दुःख, सम्मान, मेहनत र स्वाभिमानका आधारमा आफ्नो पहिचान बनायो। म आशा गर्दछु, यो पुस्तक पढ्ने जो–कोहीले पनि यसभित्र आफ्नै परिवार, आफ्नै समाज, आफ्नै बुबाको झल्को पाउनेछन्।



  • सामग्री सङ्कलनमा सहयोग गर्नेहरूप्रति आभार

यो पुस्तक लेखन केवल मेरो व्यक्तिगत संकल्पको परिणाम होइन। यो साझा सम्झना, पारिवारिक सम्बन्ध, र पुस्ता–पुस्ताको अनुभूतिहरूको सम्वेगले बनेको दस्तावेज हो। बुबा सुबेदार दुर्गा बहादुर पाण्डेको जीवन, मूल्य र योगदानलाई समेट्ने क्रममा धेरै परिवारजन र आफन्तको साथ, सम्झना र सल्लाहले यो कार्य सम्भव भएको हो।

यस यात्राको प्रेरणा स्वयं मेरा पिता दुर्गा बहादुर पाण्डे हुनुहुन्छ, जसको जिवन दृष्टिकोणले नै म यो यात्रातर्फ अग्रसर भएँ। मातृकरुणा, सहनशीलता र ममताको शिखर मेरी आमा रोम कुमारी पाण्डेप्रति म सधैं नतमस्तक छु। दिदीहरू मिना पाण्डे (रेग्मी), कमला पाण्डे (कार्की), प्रेमी पाण्डे (खत्री), र गोमा पाण्डे (रायमाझी) ले दिनुभएको सल्लाह, सम्झना र आत्मीय समर्थनले यो पुस्तकलाई आत्मभाव दिएको छ। दाजु मधु पाण्डेको अनुभवजन्य परामर्श र समझदारीले लेखनलाई अझ समृद्ध बनायो।

स्वर्गीय हजुरबा (अमलाचौर, बाँगी) बाट प्राप्त वंशीय इतिहास, मौखिक परम्परा र स्मृतिहरू आज पनि मेरो नोटमा जीवित छन्। सन्धिखर्क–७ निवासी प्रेम पाण्डेले तथ्य संकलन, स्थान पहिचान र पारिवारिक कडीहरू बुझ्नमा अमूल्य सहयोग गर्नुभयो। यस्तै, ठूला बुवाहरू स्व. मन बहादुर पाण्डे र ज्ञान बहादुर पाण्डे, जसका अनुभव र सम्झनाले यो वंशीय यात्राको गहिरो आधार तयार गर्‍यो। साथै काका अनन्त बहादुर पाण्डेको प्रेरणा, सम्झना र पारिवारिक संवादले मलाई पुस्तक लेखनतर्फ निरन्तर डोर्यायो।

यी सबैजना—जसले सल्लाह दिए, कथा सुनाए, स्मृति बाँडे र उत्साह थपे—उहाँहरूप्रति म गहिरो आभार प्रकट गर्दछु। उहाँहरूको सम्झनाले यो पुस्तकलाई एकल प्रयासको सीमाबाट पार गराएर परिवार र इतिहासको सामूहिक दस्तावेज बनाएको छ।






बिद्यालय ब्यबस्थापन तथा शिक्षाको नीति निर्माणका लागि बि. स. २०१० सालमा रुद्रराज पाण्डेको अध्यक्ष्यतामा राष्ट्रिय सिक्षा योजना आयोगको गठन भएको थियो 


नेपालमा समावेशीताको अभ्यासमा पाण्डे 

मोहन शम्शेरको २०८ सदस्यीय भारदारी सभा (त्यसबेलाको संसद) मा राणा, शाह, नेपालमा समावेशीकरणको पैरवी र अभ्यास कहिलेदेखि सुरु भयो भन्ने सन्दर्भमा कुनै आधिकारिक थापा, बस्नेत, सिंह, घले, विष्ट, सिलवाल, पाण्डे, खत्री, राजभण्डारी, आचार्य, दीक्षित, कार्की, प्रधान, पन्थ, भण्डारी, श्रेष्ठ, जोशी, गुभाजू, पन्त, सिंह (राजपुत), उप्रेती, जंगम, महत, सत्याल, रिमाल, चौधरी, देवकोटा, कर्माचार्य, जाति तथा समुदायको प्रतिनिधित्व रहेको थियो (सिम्खडार साथीहरू, २०७४)।



पाण्डे जातिमा नाग पञ्चमीको सांस्कृतिक महत्त्व

नेपालको हिन्दू समाजमा नाग पञ्चमी एउटा विशिष्ट धार्मिक पर्व हो, जसले नागदेवताहरूको आराधना र सम्मानमार्फत प्रकृतिसँगको सम्बन्ध झल्काउँछ। विशेषगरी वर्षा ऋतुको मध्यभागमा मनाइने यो पर्व कृषि, जल, र जीवन चक्रसँग पनि जोडिएको छ। पौराणिक विश्वासअनुसार नागदेवताहरू पृथ्वीको भुइँ तलको लोकका संरक्षक हुन् र वर्षा ल्याउने शक्तिशाली देवता पनि। यसैले नागदेवताहरूलाई सन्तुष्ट पार्न नाग पञ्चमीको दिन घरको मूलद्वार, थलो, र चुलोमा नागको चित्र बनाइ पूजा गर्ने परम्परा छ।

पाण्डे जातिमा नाग पञ्चमीको विशेष मान्यता रहेको पाइन्छ। पाण्डेहरू परम्परागत रूपमा क्षत्रिय जातिमा गनिन्छन्, जसले शक्ति, साहस, र संरक्षणका देवता – विशेषतः नाग, काली, वा भैरव जस्ता देवताहरूको विशेष आराधना गर्ने चलन राख्दछन्। नाग पञ्चमीको दिन पाण्डे परिवारमा विशेष पूजा, दुग्ध अर्पण, चुलो शुद्धीकरण, र वंशीय समृद्धिको कामना गरिन्छ।


टण्डन परिवारको नाग पञ्चमीसँग जोडिएको किंवदन्ती

टण्डन परिवारमा नाग पञ्चमी अझै गहिरो विश्वास र श्रद्धासँग मनाइन्छ। Ashok Tandon का अनुसार, टण्डन परिवारसँग जोडिएको एक पुरानो किंवदन्ती यस्तो छ:

Tandon को कान्छी बुहारीले (फुपू) नाग जन्माएको भनिन्छ। उनले नागलाई लिप्पट गरेपछि सधैं चुलोमा बस्न थाल्यो। कान्छी बुहारीको बिहे भइसकेपछि बिहान उठ्दा चुलोमा आगो सल्काउने क्रममा नाग आगोमा परेर जल्यो। त्यसपछि नाग मरेछ। नाग मरेपछि भैंसी रूख चढ्ने, मानिस मर्नेजस्ता अनौठा घटनाहरू हुन थाले। त्यसपछि १२ वर्षसम्म नागको पूजा हुन सकेन। धेरै मानिस मरे। अन्ततः टण्डनहरूको देउवाली नागको खरानी – जलिसकेको नागको अवशेष – राखेर पूजा गरियो। त्यस दिनदेखि नाग पञ्चमी टण्डन परिवारमा अझ श्रद्धासाथ मनाउन थालियो।”

यो कथाले देखाउँछ कि नाग देवतालाई अपमान वा बेवास्ता गर्दा नराम्रो परिणाम आउन सक्छ भन्ने जनविश्वास अझै गाउँघरमा जीवित छ। नागको क्रोध शान्त पार्न १२ वर्षपछि पूजा गरेपछि मात्र समस्या साम्य भएको भनाइ टण्डन परिवारको मौखिक इतिहासमा जस्ताको तस्तै बोकेर राखिएको छ।


नाग पञ्चमी: संरक्षण र पश्चातापको पर्व

नाग पञ्चमी केवल परम्परागत पूजा मात्र होइन, मानव र प्रकृतिबीचको सम्बन्ध सम्झाउने पर्व पनि हो। खासगरी पाण्डे र टण्डन जातिहरूमा यो पर्व आफ्नो वंश, कुलदेवता र प्राकृतिक शक्तिप्रति कृतज्ञता प्रकट गर्ने माध्यम हो। घरको चुलो, आँगन, भित्तामा नागको चित्र बनाएर, दूध, अक्षता, फूल अर्पण गरी नागदेवतासँग क्षमा माग्ने, वर्षाको सन्तुलन, सन्तानको दीर्घायु, र कुलको समृद्धिको कामना गर्ने परम्परा रहिआएको छ।

टण्डनहरूको प्रसङ्गले जनाउँछ कि कथा र परम्परा कसरी सामाजिक चेतना र धार्मिक अभ्यासमा रूपान्तरण हुन्छन्। नागको मृत्युपछि देखिएको संकट र त्यसपछिको पश्चातापसहितको पूजा नाग पञ्चमीलाई पश्चाताप र शुद्धिकरणको पर्व बनाउँछ।




चरम्बीका पराजुलीहरूको वंशावलीमा परेको नजर

अशोक पाण्डे (जन्म: अर्घाखाँची, हाल: काठमाडौँ); अयुस्का पराजुली (हाल: काठमाडौँ)

भूमिका

बि. स. २०८१ साउन २८ गते साँझ करिब ७.३० बजे छोरा (हिरण्य प्रसाद पराजुली मेरो नाताले ससुरा बुवा) ले काठमाडौँ सनसिटीबाट विराटनगर निवासी ससुरा बुवाका बुवा घनश्याम पराजुली र आमा टिकामाया पराजुलीसंग फोनमा वार्तालाप गर्दै चरम्बीका पराजुलीहरूको वंशावली प्रकाशन गर्न लागेको कुरा गर्नु भयो     म अशोक पाण्डे (ज्वाइँ) र श्रीमती अयुस्का पराजुली (छोरी)को समेत फोटो पठाउनु भन्ने खबर सुनेपछि मेरो ध्यान त्यतै तिर केन्द्रित भयो । फोन वार्ता सकिए पछि कुनै लेख भए, पठाउनु मैले पनि छोटो कविता पठाउनु पर्ला भन्नु भयो  । नन्द प्रसाद पराजुलीका सन्तानको वंशावली प्रकाशित गर्न मैले के लेख्ने, अर्घाखाँचीमा जन्मिएको मान्छे, काठमाडौँको स्थायी बासिन्दा,  कहाँ नन्द प्रसाद पराजुलीलाई देख्नु र न त चरम्बी गाउँ भोजपुर  नै, तै पनि सङ्खुवासभा र भोजपुरको १५ वर्ष पुरानो यात्रालाई सम्झँदै केही लेख्नु पर्ला भन्ने मनमनै सोचेर सुते  । बिहान उठेर लेख लेख्ने सोच श्रीमतीलाई सुनाए, उहाँले पनि सह-लेखन गर्ने सहमति भएपछि झन् उत्साहित भए   । पेसाले अनुसन्धानकर्ता भएकाले हो कि वा मेरो सोख, चाहना भनुम गुगल सर्च इन्जिनमा पराजुली सम्बन्धी लेख खोज्न मन लग्यो  । झल्यास याद आयो ! मैले पराजुली थरको केटीसँग बिहे गर्दा बखत समेत गूगल सर्च गरेको थिएन  । अनभिज्ञ थिए ।  अर्को दिन मैले पनि छोटो आलेख पठाउँछु है भन्दा ससुरा बुवाले तुरुन्त हुन्छ भन्नु भयो र छिटो तयार गर्न भन्नु भयो  । यो लेखमा मेरो अध्ययन, खोजले भ्याए सम्म तथा नितान्त व्यक्तिगत विचारमा लागेका केही विषयवस्तु प्रस्तुत गरेका छौ । यो लेखले केही नयाँ कुरा वा नतिजा दिने छैन वा पाठकलाई मन नपर्न पनि सक्छ । तै पनि पराजुली वंश सम्बन्धी छोटो तथ्यगत गाथा पस्कने जमर्को गरेको छु ।  प्रस्तुत छ पराजुली  वंशलाई आधार बनाई पाण्डे थरलाई जोडेर पाएका ११ तथ्यगत बुँदाहरू: 

बुँदा १: पराजुली सम्बन्धी मेरो पहिलो नजर गुगलको मदन पुरस्कार गुठीमा पर्‍यो । उक्त गुठीको रेकर्डको सी.नं. २६३९४ बमोजिम चरम्बेली पराजुली सेवा समाजको विधान २०५६ मा तयार भई नियमावली २०५७ असोजमा बनेको रहेछ । बालकृष्ण पराजुली उक्त कार्यको संरक्षक हुनुहुँदो रहेछ । उक्त समाजले २०५८ वैशाखमा वंश परिचय (छन्दमा) चरम्बीका पराजुलीहरूको वंशावली प्रकाशित गरेको देखिन्छ ।  स्रोत: https://www.madanpuraskar.org/search/monographslist.php?start=26151

बुँदा २: विकिपिडियामा सार्थक पराजुलीले पराजुली  दैलेख जिल्लाको "पराजुल" भन्ने ठाउँबाट उद्गम भएर नेपाल, भारत तथा अन्य स्थानहरूमा बसोबास गर्ने हिन्दु धर्मावलम्बी भनी उल्लेख गरेको पाए । उहाँको लेखमा कास्की जिल्लाको कास्की कोटका सिंह वंशका युवराज जयदेव खानका मुख्य गुरु सु-शरण पराजुलीले बि.स. १११३ वैशाख १४ गते जयदेव खानलाई राज्य अभिसेख गराइ कास्कीलाई स्वतन्त्र राज्य घोषणा गरेको उल्लेख गरेका छन् । जैनारायण पराजुली, राजा नयन खानको पालामा मन्त्री भएको प्रमाण इतिहासमा उल्लेख भएको लेखेका छन् । शाह वंशका प्रथम राजा कुल्मन्दन शाहका गुरु देवानन्द पराजुली थिए भन्ने कुरा पनि उल्लेख भएको छ ।

बुँदा 3: विकिपिडियामा नै सार्थक पराजुलीले लेखेका छन्, ऐतिहासिक किम्बदन्तिमा गुरु देवानन्द पराजुलीसँग बिहान (शुभ) र साँझ (सन्ध्या) मा आफैँ बज्ने अनौठो दाहिने शङ्ख थियो । राजा कुल्मन्दन शाहलाई उक्त शङ्ख आफ्नो गुरु नभएको मौका छोपी बजैसँग गुरुले लिन पठाउनु भएको भनी झुक्क्याएर शङ्ख दरबारमा पुराउनु भएको थियो । त्यस पछि गुरुले शङ्ख माग्न जाँदा शङ्ख राजाले नदिएकाले उनले राजासँग विद्रोह गरेको उल्लेख छ । शङ्खको पिरका करणले केही समय पछि मृत्यु भएको पनि लेखेका छन् । गुरुको शङ्खकै करणले मृत्यु भएकाले हालसम्म पनि चैनपुर र पोखरेलीले शवयात्रामा शङ्ख बजाउदैनन भन्ने मान्यता छ ।

बुँदा ४: विकिपिडियामा नै सार्थक पराजुलीले थप लेखेका छन्, गुरु देवानन्द पराजुलीका एक भाइ छोराको चट्याङमा परेर देहबसान भएको थियो । पुत्र वियोगमा भएको यस्तो अवस्थामा राजाले शङ्ख समेत लगेको हुँदा उहाँले घरबार त्यागी पोखरा चुकुती गाउँ हालको सिद्धार्थ चोक आई बसेको तथ्य उल्लेख गरेका छन् । मित्रले अचानक घरबार त्यागेर बसाइ सरेकाले शिव शरण तिवारीले आफ्नो मित्रको श्रद्धामा मित्र पूजा गर्ने चलन बसालेको पाइन्छ । 

बुँदा ५: पराजुली थर विश्वभरमा सबैभन्दा धेरै प्रयोग हुने थरहरूमध्ये ९,४४८औं स्थानमा रहेको छ, जुन करिब १,२१,७६८ जनामा १ जनाले धारण गरेको पाइन्छ । पराजुली थर प्रायः एशियामा पाइन्छ, जहाँ ९९ प्रतिशत पराजुलीहरू पाइन्छन्। स्रोत: https://forebears.io/resources

बुँदा: पराजुली थर सबैभन्दा धेरै नेपालमा प्रचलित थर हो । एक सर्वेक्षण अनुसार ५६,०८६ जना पराजुली थर गरेका व्यक्ति छन्  । अर्थात् ५०८ जनामा १ जनाले पराजुली थर भएको देखिन्छ । नेपालमा पराजुलीहरू मुख्य रूपमा बागमती प्रदेशमा केन्द्रित छन् । यो प्रदेशमा करिब २७ प्रतिशत बसोबास गर्छन् भने गण्डकीमा १६ प्रतिशत बसोबास गर्छन् र लुम्बिनीमा १५ प्रतिशत बसोबास गर्छन् । (श्रोत: इन्टरनेट, २०२४)

बुँदा ७: नेपाल बाहिर पराजुली थर भएका व्यक्ति ५१ देशमा बसोबास गर्दछन् । पराजुली थर भएका मानिस भारतमा बिश्वमा भएका पराजुलीहरू मध्ये ३ प्रतिशत बस्दछन भने संयुक्त अरब इमिरेट्समा १ प्रतिशत बसोबास गर्छन् । (श्रोत: इन्टरनेट, २०२४)

बुँदा ८: संयुक्त राज्य अमेरिकामा पराजुली थर भएका व्यक्तिहरू अमेरिकी औसत भन्दा १४.१% बढी रिपब्लिकन पार्टीसँग आबद्ध भएका छन् ति मध्ये करिब ६०.८७% व्यक्तिहरू चुनाबमा मताधिकार प्रयोग गर्दछन।(श्रोत: इन्टरनेट, २०२४)

बुँदा ९: विभिन्न देशहरूमा पराजुलीहरूले कमाइ गर्ने रकम फरक फरक छ । संयुक्त राज्य अमेरिकामा राष्ट्रिय औसत भन्दा ७.०३% बढी कमाउँछन् जसको वार्षिक रकम औसतमा $४६,१८२ हुन आउँछ  साथै, क्यानडामा तिनीहरूले राष्ट्रिय औसत भन्दा ५.५४% कम कमाउँछन् जसको वार्षिक रकम औसतमा $४६,९३३ CAD हुन आउँछ । (स्रोत: https://forebears.io/resources)

बुँदा १०: गूगल स्कोलर (Google Scholar) सर्च इन्जिनका अनुसार पाण्डे र पराजुली थरका व्यक्ति मिलेर २०८१ साउन ३० गते सम्म ६२०० अनुसन्धानात्मक लेखहरू मिलेर लेखेका छन् ।  [स्रोत: https://shorturl.at/CFQsY] साथै पबमेड (pubmed) सर्च इन्जिनका अनुसार १९ वटा अनुसन्धानात्मक लेखहरु सगोलमा प्रकाशित गरेका छन् । [स्रोत: https://shorturl.at/qbhD1]

बुँदा ११: पराजुली र पाण्डे थरका बिच पारिवारिक विवाह वा गठबन्धन सामान्य कुरा हुन सक्छ। पराजुली र पाण्डे थरका व्यक्तिहरू आधुनिक समाजमा विविध पेसा र व्यवसायमा संलग्न छन् ।यी थरका व्यक्तिहरू प्रायः शिक्षा र पेसागत क्षेत्रमा उच्च स्तरमा पहुँच भएकाले सामाजिक र आर्थिक स्थिति मजबुत छ ।

 

अन्तिममा

पराजुली वंशावलीको इतिहास प्राचीन समयमा हिन्दु धर्ममा आधारित छ, जहाँ ब्राह्मणहरूले धार्मिक कर्मकाण्ड, वेद पाठ, यज्ञ, र अन्य धार्मिक क्रियाकलापहरूमा अग्रणी भूमिका खेल्थे । पराजुली थरका व्यक्ति परम्परागत रूपमा उच्च शिक्षा, धार्मिक शिक्षा, र नैतिक मूल्यहरूको संरक्षणमा जोड दिएको छ। पराजुली बंशका व्यक्तिहरू प्रायः शिक्षण, प्रशासकीय, र अन्य प्रतिष्ठित क्षेत्रमा संलग्न छन् । पराजुली बंशका व्यक्तिहरूले धेरै पीढीहरूदेखि नेपालमा आफ्नो पहिचान र प्रतिष्ठा कायम राख्दै आएको छ। आधुनिक समयमा पनि, पराजुली समुदायले आफ्नो पुरानो परम्परा र संस्कारलाई जगेर्ना गर्दै आधुनिक जीवनशैलीसँग तालमेल मिलाउन प्रयास गरिरहेका छन्।

Comments

Popular posts from this blog

त्यो सेतो हुडी

   त्यो सेतो हुडी मङ्सिर १८ बिहान एक्कासि फोन आयो। “ आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है। ” छोटो , आत्मीय अनुरोध थियो। कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए “ अशोक सर को हो ?” कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो , तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ। मेरो मन्तव्यको सार एउटै थियो “If you work hard, you will be prosperous.” यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ। त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो , “ तपाइहरूको फेभरेट सर को हो ?” दिर्घाबाट एक्कासि आवाज आयो— “ अशोक सर! ” म एक छिन त अक्क न बक्क परेँ। त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो। उहाँले भन्नुभयो: विद्यार्...
link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल   अशोक पाण्डे ठेगाना: मालारानी ७ , अर्घाखाँची हाल: सनसिटि, पेप्सीकोला, काठमाडौँ पद र संग्लग्न संस्था: नीति अनुसन्धानकर्ता , नीति अनुसन्धान प्रतिष्ठान, नेपाल सरकारको विशेषज्ञ समूह   नारायणहिटी , काठमाडौँ ,  नेपाल इमेल र फोन नंबर: ashok1pande@gmail.com , 9851148695   अनुसन्धानको दृष्टिकोणबाट नरसिंह स्थानको वर्णन गर्छु भनेर , मिति २०८२ भाद्र ४ गते ल्यापटप मेसिन साथीलाई काखमा लिएर सर्च (खोज्न) गर्न थाले म जन्मे हुर्केको बेला सबै भन्दा धेरै कुरा हुने , भगवान् मध्ये १ नरसिंह अवतार र नरसिंहस्थानको । अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची चक्षु प्रकाशन गर्न ढिला भई सकेको र केही रचनाहरू प्राप्त भई सम्पादन भइरहेको र यही शुक्रवार सम्म थप रचना पठाउनु हुनका लागि पुनः अनुरोध  आएको whatsapp सन्देश बमोजिम आलेख पठाउने रहर जाग्यो । गुगल सर्च इन्जिन , फेसबुक र युट्युबमा “ नरसिंह , नरसिंह स्थान , नरसिंह स्थान बामरुक , नरसिंह स्थान मालारानी , नरसिंह स्थान अर्घाखाँची , र विष्णु अवत...