Skip to main content

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

नरसिंह स्थान: अर्घाखाँचीको अविस्मरणीय धार्मिक र सांस्कृतिक स्थल

 

अशोक पाण्डे

ठेगाना: मालारानी ७, अर्घाखाँची हाल: सनसिटि, पेप्सीकोला, काठमाडौँ

पद र संग्लग्न संस्था: नीति अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान, नेपाल सरकारको विशेषज्ञ समूह नारायणहिटी, काठमाडौँनेपाल

इमेल र फोन नंबर: ashok1pande@gmail.com, 9851148695

 

अनुसन्धानको दृष्टिकोणबाट नरसिंह स्थानको वर्णन गर्छु भनेर, मिति २०८२ भाद्र ४ गते ल्यापटप मेसिन साथीलाई काखमा लिएर सर्च (खोज्न) गर्न थाले म जन्मे हुर्केको बेला सबै भन्दा धेरै कुरा हुने, भगवान् मध्ये १ नरसिंह अवतार र नरसिंहस्थानको । अर्घाखाँची राष्ट्रसेवक समाजद्वारा अर्घाखाँची चक्षु प्रकाशन गर्न ढिला भई सकेको र केही रचनाहरू प्राप्त भई सम्पादन भइरहेको र यही शुक्रवार सम्म थप रचना पठाउनु हुनका लागि पुनः अनुरोध  आएको whatsapp सन्देश बमोजिम आलेख पठाउने रहर जाग्यो । गुगल सर्च इन्जिन, फेसबुक र युट्युबमा नरसिंह, नरसिंह स्थान, नरसिंह स्थान बामरुक, नरसिंह स्थान मालारानी, नरसिंह स्थान अर्घाखाँची, र विष्णु अवतार को खोज गरे । मेरो अपेक्षा थियो सर्च इन्जिनका पेज भरि अर्घाखाँची, मालारानी नरसिंह स्थानको बारेमा सूचना, जानकारी, आदि आउँछ होला भनेर तर, त्यस्तो आएन । मन भारी भयो, चित्त बुझेन, झन् खोज्न मन लाग्यो नरसिंह स्थानसँग जोडिने व्यक्ति, सरोकारवाला, अनलाइन मनमा जे जे लाग्छ सबै ट्याव खोले । यसमा जे जति पाउँछ, पाए जति सिलसिलेवार मिलाएर लेख्छु, बाकी मैले बुझेको, जानेको हिसाबले लेख्छु भनेर । अनुसन्धान आधारित आलेख नहुने निधो सहित नरसिंह स्थानको जानकारी केही मात्रामा कोर्ने प्रयास गरे ।

 

नरसिंह अवतार  र नरसिंह स्थान

विष्णु पुराण (प्रथम अंश, बिसौँ अध्याय) मा वर्णित नरसिंह अवतार सम्बन्धी संस्कृत श्लोक ततः कृतयुगे विष्णुर्नरसिंहरूपधृक् । हिरण्यकशिपुं हत्वा प्रह्लादं पालयाम्यहम् ॥ भावार्थ (अनुवाद): सत्ययुगमा भगवान् विष्णुले नरसिंह रूप धारण गरी दैत्यराज हिरण्यकशिपुको वध गर्नुभयो र आफ्नो परम भक्त प्रह्लादको रक्षा गर्नुभयो। विष्णु पुराणका अनुसार, सत्ययुगमा भगवान् विष्णुले चौथो अवतारको रूपमा नरसिंह अवतार लिनुभएको हो। संक्षेपमा भन्नु पर्दा हिरण्यकशिपु नामक दैत्यराजले ब्रह्माबाट वरदान पाएर मानिस, पशु, दिन, रात, भित्र, बाहिर, हतियार आदि कुनै पनि बाट मर्न नसक्ने शक्ति प्राप्त गरेको थियो। उसको पुत्र प्रह्लाद भगवान् विष्णुको परम भक्त थिए। हिरण्यकशिपुले प्रह्लादलाई मार्ने धेरै प्रयास गरे, तर भगवान् विष्णुको कृपाले हरेक पटक असफल भए। अन्ततः, प्रह्लादलाई बचाउन र अधर्मको अन्त्य गर्न, भगवान् विष्णुले मानव र सिंहको संयोग स्वरूप नरसिंह अवतार लिनुभयो। उहाँ साँझपख (न दिन, न रात), महलको देहरी (बलेनी) मा (न भित्र, न बाहिर), आफ्ना नङद्वारा (न हतियार) हिरण्यकशिपुलाई मारे। यसरी सत्ययुगमा भगवान् विष्णुले आफ्नो चौथो अवतार नरसिंहको रूपमा अवतरित भई धर्म र भक्त प्रेमको रक्षा गर्नुभएको थियो ।

भारतमा नरसिंह मन्दिर राजस्थानको हिण्डौन, पोखरैरा मुजफ्फरपुर (बिहार), नरसिंहपुर (मध्य प्रदेश), र खपरियावां गाउँ, हजारीबाग (झारखंड) मा अवस्थित छन् । नेपालमा नरसिंह मन्दिर धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका-१, सल्यानटारको फेदीमा बूढी गण्डकी र नेत्रावती नदीको सङ्गममा, बागलुङको निसीखोला गाउँपालिका-७ मा, सुनसरीको इनरुवामा र नवलपुर (पूर्वी नवलपरासी) को गैँडाकोट नगरपालिकामा अवस्थित छन् । यी स्थानको अध्ययन गरेपछि चौथो अवतार नरसिंहको रूप लिएको र माथि उल्लिखित सबै कार्य भएको स्थान अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका-७ बामरुकमा अवस्थित ५२ हात अग्लो र ५२ हात नै फेरो भएको नरसिंहको विशाल शीला र चारमुखे गुफासहितको नरसिंहस्थल हो भन्ने मेरो दाबी रह्यो । यो धार्मिक स्थल नेपाल देशको लुम्बिनी प्रदेश, अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क देखि करिब १८ किलोमिटरको दूरीमा रहेको छ ।

 

बिस्तृतमा नरसिंह अवतार

१. सत्ययुगमा नरसिंह अवतार: भक्त प्रेमको रक्षा गर्न र अधर्मको अन्त्य गर्न भगवान् विष्णुले चौथो अवतार-नरसिंह अवतार लिनुभयो। साँझपख, देहरीमा, नङले हिरण्यकशिपुको वध गरेर धर्मलाई पुनः स्थापित गर्नुभयो। यसैले नरसिंहलाई सत्ययुगको प्रमुख अवतार भनिन्छ।

२. त्रेता युगमा नरसिंहको महत्व: त्रेता युगमा भगवान् राम (विष्णुको सातौँ अवतार) प्रकट भए। यस युगमा नरसिंहको प्रत्यक्ष अवतार नभए पनि रामायणमा प्रह्लाद-नरसिंहको कथा भक्ति भावका आदर्शका रूपमा वर्णित छ। त्रेता युगका ऋषि-मुनिहरूले धर्म र भक्तिमा अडिग रहन प्रह्लाद र नरसिंहको कथा शिष्यहरूलाई सुनाउँथे। यसरी त्रेता युगमा नरसिंह भक्ति र धर्म स्थापनाको प्रेरणाका रूपमा स्मरण गरिन्छ।

३. द्वापर युगमा नरसिंहको प्रभाव: द्वापर युगमा विष्णु भगवान् कृष्ण (आठौँ अवतार) भएर प्रकट भए। महाभारतमा पनि प्रह्लाद र नरसिंहको कथा स्मरण गरिन्छ। कृष्णले अर्जुनलाई उपदेश गर्दा अधर्मको अन्त्य र धर्मको स्थापना गर्न भगवान् बारम्बार अवतार लिने कुरा भन्नुहुन्छ - यस उदाहरणमा नरसिंहको कथा पनि जोडिन्छ। द्वापर युगमा नरसिंहलाई धर्म रक्षा र भक्त रक्षा गर्ने अवतारको प्रतीकका रूपमा पुजिन्छ।

४. कलियुगमा नरसिंहको उपासना: कलियुगमा अधर्म, लोभ, मोह, अहङ्कार बढ्ने भविष्यवाणी गरिएको छ। यस्तो समयमा नरसिंह भगवान् भक्तको रक्षा गर्ने र दुष्ट शक्तिलाई नाश गर्ने स्वरूपमा विशेष पूजा गरिन्छ। कलियुगमा नरसिंह स्तोत्र, कवच, मन्त्र आदिको पाठ गरेर डर, रोग, सङ्कट, र शत्रुबाट मुक्ति मिल्ने विश्वास छ। त्यसैले कलियुगमा नरसिंह अवतार भय, सङ्कट र अन्यायबाट मुक्तिदाता देवताका रूपमा विशेष महत्त्व राख्छ। 

 

वि.सं. १९९० पछिका केही तथ्य

मालारानी ८ हंसपुर घर भई हाल नीति अनुसन्धानका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्ति रिजालले उहाँको लेखमा पृथ्वी नारायण साहले नेपाल एकीकरण गर्दा बहादुर साह लगायत सम्पूर्ण टोलीले यही नरसिंह स्थानमा आई बडो भक्ति भावले तपस्या, सेवा भाव प्रकट गरी, प्रार्थना पूजा आज्ञा गरी पश्चिम तर्फको युद्धमा गएको र सफल भएको वर्णन गर्नु भएको छ । यही कुरा २०८१ चैत्र  १५ गते  मालारानी - ७ वडा कार्यालयमा वडा अध्यक्ष खड्ग भुसाल लगायत सम्पूर्ण सदस्यज्युहरुले म लगायत डा. रिजाललाई स्वागत, अन्तरक्रिया, सम्मान, र नरसिंह स्थान मन्दिर दर्शन गर्दाका बखत सुनाउनु भएको थियो । संयोगले त्यही समयमा अर्घाखाँचीकै पत्रकार तथा लेखक मुक्तिनाथ भुसालसँग भेट भएको थियो । उहाँले लेखेका आलेखको केही विवरण यस आलेखमा साभार गरेको छु (भुसाल, २०७५)।

·       बामरुकका स्थानीय बासी मणिराम बस्नेतले वि.सं. १९९० सालदेखि आत्मिक वैराग र ध्यानमार्फत ज्ञानको साधना सुरु गर्नु भयो । २००१ सालमा उहाँले दिव्य सपनामा नरसिंहको दर्शन पाइ, पूजा लगायत सेवा सुसार गर्न लगाउनु भयो । २००३ सालदेखि ध्यान दृष्टिमा निरन्तर दर्शन पाउने क्रममा उहाँले नरसिंह भक्तका रूपमा जीवनभर ध्यान, जप, तपस्या र नित्य पूजा गर्दै सात्त्विक जीवन बिताउनु भयो ।

·       वि.सं. २०२५/०२६ सालतिर गोविन्दराम आनन्द नाम गरेका एक जना भारतीय व्यक्ति शिक्षकको रूपमा बामरुकमा आएका बेला उनले सो समय नरसिंहबारे कपडामा तयार पारेको एउटा चित्र पट समेत हालसम्म सुरक्षित रहेको छ (भुसाल, २०७५)।

·       हंसपुरका तत्कालिन प्रधानपञ्च स्व: जगत बहादुर टण्डनले ०२८/२९ सालतिर ढुङ्गाको छानो राखी मन्दिरको पुनर्निर्माण गर्नु भएको थियो ।

·       साना किसान विकास आयोजनाबाट ०५१/५२ सालमा मन्दिर तथा सँगै रहेको ठाँटी कर्कट पाताले छाउने काम भएको थियो ।

·       स्थानीय क्या. बल बहादुर खड्काको पहलमा ०४५ सालमा जिविसबाट कर्कट पाता र चन्दा सङ्कलनबाट विशाल शिलाछेउ नरसिंह भगवान्को चार ढोके मन्दिर निर्माण गरिएको थियो

·       स्व. दण्डपाणि मरासिनी र योगी नरहरिनाथको पहलमा यस स्थललाई पुरातत्त्व विभागले राष्ट्रिय अभिलेखालयमा पर्यटन विकास क्षेत्रको रूपमा दर्ता गरिएको छ।

·       २५ वर्ष अगाडी, स्व. क्याप्टेन गोकर्ण बहादुर टण्डनको छोरा अशोक टण्डनले काठमाण्डौबाट तामामा बनेको करिब २० केजी बराबरको नरसिंहको मूर्ति लगी नरसिंहथानको मुख्य मंदिरको भित्र मूर्ति स्थापना गर्नु भएको थियो । 

·       मन्दिरलाई आ.व. ०७१/७२ मा पुरानो संरचना विस्थापित गरी नयाँ मन्दिर निर्माण गरिएको हो ।   

·       ०७१ सालमा यहाँको स्थानीय भेलाले दलबहादुर भट्टराईको अध्यक्षतामा ‘श्री नरसिंह स्थान पर्यटन पूर्वाधार विकास उपभोक्ता समिति संस्था दर्ता गरी हालसम्म क्रियाशील रहेको छ । 

·       उक्त संस्था दर्ता भएको पहिलो आ.व. ०७१/७२ मा नरसिंही देवीको मन्दिर (बलि चढाउने मन्दिर) कार्यविधि आदि कम गरेको थियो   

·       आ.व. ०७२/७३ मा तामाको छानो राखी सुनौलो रङले रङ्गाई नयाँ मन्दिर निर्माण गरिएको छ ।

·       आ.व. ०७२/७३ मा नरसिंह भगवान्को चार ढोके मन्दिर तथा भक्त प्रह्लादको मन्दिर, आ.व. ०७३/७४ मा नरसिंहीदेवी मन्दिर प्राङ्गणमा रङ्गशाला, आ.व. ०७४/७५ मा सत्सङ्ग भवन तथा आ.व. ०७४/७५ मा सुरु गरी आ.व. ०७५/७६ मा नरसिंहीदेवी मन्दिरनजिक एउटा सार्वजनिक शौचालयको निर्माण कार्य मालारानी सम्पन्न गरिएको छ ।

·       स्थानीय बुद्धिजीवीहरू दल बहादुर भट्टराई, खड्ग भुसालसुबेदार दुर्गाबहादुर पाण्डे, नरेन्द्र टन्डन, लोम बहादुर बस्नेत, क्याप्टेन इन्द्र बहादुर खड्का, क्याप्टेन तिलक खत्री, स्व: सुबेदार रण बहादुर खनालस्व: क्याप्टेन गोकर्ण बहादुर टन्डन, आदिले  नरसिंह स्थान मन्दिरको निर्माण र विकासमा विशेष योगदान दिनु भएको छ  

·       साथै, सन् १९३९ मा जर्मनीको होह्लेनस्टाइन-स्तादेलका गुफामा भेटिएको करिब ४० हजार वर्ष पुरानो मूर्तिको टाउको सिंहको र शरीर मानिसको थियो । हिन्दु पुराणअनुसारको नरसिंह अवतारसँग यो मूर्तिको स्वरूप मिल्ने भएकाले यसलाई विशेष महत्त्व दिइएको छ (चौलागाई, २०७४)।

 

नरसिंह स्थानको महिमा

हिन्दु परम्परा अनुसार पाण्डे जातिले दशैको अष्टमीको दिनमा कालरात्रि गर्ने तथा नवमी दिनमा नरसिंह भगवानलाई आफ्नो गच्छे अनुसार बोकाको बलि चढाउने वा पंच बलि (बोका, भेंडा, राँगो, हाँस र कुखुरा (कतै कुभिन्डो/काक्रो) प्रचलन छ ।  हाम्रो घर झंक्रिसल्ला (मालारानी ७) बाट नरसिंह स्थान मन्दिर, बामरुक देखिने भएता पनि हिँडेर जानलाई करिब १:३० घण्टा जति लाग्ने थियो, फर्कँदा उकालो भएकाले २ घण्टा पनि लाग्दथ्यो । साधैका दसैँको नवमीमा हामी झंक्रिसल्लाका बासिन्दा पाण्डे, अधिकारी, र खड्काले टोल नजिकै सल्लाको रुखमा दिशा पारी बलि दिने गर्दथ्यौ । मेरो स्मरणमा २०५५ सालको दसैँको नवमीको दिन हुनु पर्छ, मेरो बुवा सुबेदार दुर्गाबहादुर भारतीय आर्मीको सेवा निवृत्त भएर आउनु भएको थियो, हामी सबेरै उठेर नरसिंह स्थान मन्दिर, बामरुक दर्शन, तथा बलि चढाउन गयौ । बालक उमेर खुबै रमाए, मन्दिर, यता उता घुमेको मनमा ताजै छ । बलि चढाएर, दर्शन गरेर फर्कँदा दिउसोको २-३ बजेको थियोउकालो बाटो, भोको पेट खुबै याद आउँछ ।

त्यस पछि सालका दसैँको नवमीमा सदाका जस्तै घर नजिकको सल्लाको बोट डाँडामा पूजा गर्ने, बलि दिने कार्यक्रम चली रह्यो ।  त्यो समयमा विदेश (खाडी देश तथा अन्य देश) मा जाने चलन थिएन ।  प्राय: चल्ती भारतीय आर्मीको थियो ।  फलानो आयो, अब उसले दान, धर्म, आदिबाट गाउँको सेवा गर्छ भन्ने मान्यता थियो   यो स्थानमा नरसिंह स्थान मन्दिर बनाउनु पर्छ भनेर छलफल भए, भारतीय आर्मीहरूको मुख ताकियो तर, मन्दिर बनेन । बि. स. २०६१ सालको एस.एल.सी पछि, बुवाले मलाई काठमाडौँ पढ्न पठाउनु भयो । वि सं २०७३ वैशाख २६ गते साँझ करिब साझा ८ बजे काठमाडौँचाबहिल स्थित डेरामा मन्दिर बनाउन पर्छ भनी दाजु मधु पाण्डे र भाइ राजन अधिकारी (फुपूको) छोरा सँग प्रस्ताव राखे । २०७३ को दसैँमा उद्घाटन गरी पूजा लगायतका गतिविधि अगाडी बढाउन पर्छ भन्दैदाजुहरू जीवन पाण्डेकमल पाण्डेमिन पाण्डे, गोपाल पाण्डेसँग फेसबुक (उहाँहरू विदेश भएकाले) वाट सहयोग मागे । माइन्युट लेखे । उहाँहरू लगायत टोलवासीको जन श्रमदान र चन्दाबाट मन्दिरको निर्माण भयो ।  त्यसपछि नरसिंह स्थान मन्दिर, बामरुकमा जस्तै नरसिंह (देवी) मन्दिर, झंक्रिसल्लामा पूजाआजा, बलि इत्यादि कार्य हुँदै आएको छ । ललितपुर पाटनको पसलबाट करिब १८ के जीको दुर्गा (देवी) प्रतिमा (मूर्ति)को स्थापना छ ।

 

 

 

अहिलेको नरसिंह स्थान 

नरसिंह स्थान आफ्नो प्राकृतिक सौन्दर्य, ऐतिहासिक महत्त्व र सांस्कृतिक सम्पदाका लागि अत्यन्तै चर्चित छ। यहाँको वरिपरिको घना जङ्गल, विविध प्रकारका शिला संरचना, चार ढोके गुफा, फटिकको मौलो, तथा ५२ हात अग्लो र ५२ हात फेरो भएको विशाल प्रस्तरशिला मुख्य विशेषता हुन्। नरसिंहले हिरण्य कश्यपलाई आफ्नो काखमा राखेर मार्दा त्यसैको स्मृतिमा रहेको शिलामा राक्षसको आकृति देख्न सकिन्छ। यी प्राकृतिक सम्पदाहरू नै नरसिंह स्थानको पहिचान हुन् र मुलुकमा आएका महाभूकम्पले समेत यहाँका ठुला शिलाहरूमा कुनै क्षति पुऱ्याएको छैन। विश्वास अनुसार, विष्णु भगवान्ले नरसिंहको रूपमा चौथो अवतार लिँदा ब्रह्मा, शङ्कर, इन्द्र लगायत सम्पूर्ण देवीदेवता यस स्थानमा उपस्थित भए र ती सबै शिलामा परिणत भएका हुन्। त्यसैले यहाँका प्रत्येक शिलालाई विशेष ईश्वरका नामले चिन्हित गरिएको छ। नरसिंह स्थानमा रहेका मन्दिरहरू प्रायः शिलासँग जोडेर बनाइएका छन्। विशाल शिलाछेउको मन्दिरमा विष्णु भगवान्का चौथो अवतार नरसिंहको पूजा नियमित रूपमा हुन्छ। यहाँ खिरको भोग चढाउने, गाईको दूधले शिलालाई नुहाउने, र अग्नि कुण्डमा होम गर्ने परम्परा छ। प्रत्येक वर्ष वैशाख शुक्ल चतुर्दशीमा नरसिंह जन्म जयन्ती विशेष रूपमा मनाइन्छ भने प्रत्येक चतुर्दशीमा नियमित पूजा हुन्छ। नरसिंह अवतारसँगै फुटेको शिलाको शिर अलि तल ढाक्रे पानी खरिया रूखमा रहेको भएकाले त्यहाँ पनि मन्दिर निर्माण गरिएको छ र मुढ नरसिंहको पूजा गरी विशाल शिलाछेउको मन्दिरमा पूजा गर्ने परम्परा कायम छ।

 

नारसिंहीदेवीको मन्दिर यहाँको सबैभन्दा प्रचलित मन्दिर हो, जहाँ भक्तजनहरूले आफ्नो मनोकाङ्क्षा राखेर भाकल चढाउँछन्। यसमा राँगा, पाठा, भेडा, कुखुरा, कुभिन्डो, तथा परेवा आदिको बलि दिने प्रचलन छ। हिउँदे र बर्खे दुवै दसैँमा नवरात्रि पूजा, नवमीका दिन, र वैशाख तथा मङ्सिरको पूर्णिमामा विशेष मेला लाग्ने गर्छ। पञ्चमी र पूर्णिमाका दिन नियमित पूजा र बलि हुने भएकाले टाढा टाढाबाट भक्तजनहरू आउने गर्दछन्। भुसाल थरका पुजारीहरूले पूजापाठ सञ्चालन गर्ने परम्परा यहाँ स्थापित छ। त्यसै गरी नरसिंहस्थानस्थित दुर्गादेवीको शिलाबाट प्रत्येक असोज शुक्ल एकादशीमा सराय नाच निकालिन्छ र दिनभर गुर्दुमको चौरमा सराय खेलाइन्छ, साँझमा विसर्जन गरिन्छ। दुर्गादेवीको मन्दिर आर्थिक अभावले पूर्ण रूपमा निर्माण हुन सकेको छैन। शिव मन्दिरमा प्रत्येक शिवरात्रि र नाग पञ्चमीमा विशेष मेलासहित पूजा हुन्छ भने त्रयोदशीका दिन नियमित पूजापाठ चल्छ। अम्बिकादेवी र भक्त प्रह्लादका मन्दिरमा पनि नियमित पूजा हुने गर्दछ। यहाँका होमस्टेका सात वटा संरचना निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेका छैनन्।

नरसिंह स्थानको नजिक अर्थात् बामरुक गाउँको टापुमा रहेको माईको थान नामले प्रख्यात भगवती मन्दिर रहेको छ । यो ठाउँ भुरेटाकुरे राजाका पालाको रजौटो रहेको भनिन्छ । त्यस बेला सुरक्षा घेरा स्वरूप बनाइएको ढुङ्गे पर्खालको अवशेष अहिले पनि देख्न सकिन्छ । अग्लो स्थानमा रहेकोले यहाँबाट वरिपरिका विभिन्न स्थानका साथै हिमालको पनि दृश्यावलोकन गर्न सकिन्छ । नरसिंहस्थान भन्दा अलि तल द्वारे ढुङ्गा भन्ने स्थान छ जहाँ गणेश-कुम्भ देवताका शिला रहेका छन् । सेरोफेरोमा रहेका अर्घा भगवती मन्दिर, मालारानी मन्दिर, हंसपुरको बराह मन्दिर र गढीको लेक, हंसपुरमै राँगा मारे मन्दिर तथा हंसपुर कोट र गोखुंगा, लोहोरीको लेख दर्शनीय स्थलको रूपमा रहेका छन् ।

 

नरसिंह स्थान  बिकासका लागि तत्काल गर्न सकिने कार्यहरू

·       नरसिंह स्थान मन्दिरको Arial view सहितको मन्दिर र बाटोको भिडियो डकुमेन्ट्री बनाउने, र प्रचार प्रसार गर्ने साथै गुगलमा नरसिंह स्थान मन्दिरको नक्सा आउने बनाउने ।

·       जिल्ला प्रवेश द्वारदेखि मुख्य मुख्य स्थानहरूमा होर्डिङ बोर्ड राख्ने, ब्रोसर प्रकाशित गर्ने ।

·       हिरण्यकशिपु राजाको दरबार चार ढोके प्राकृतिक गुफा, हिरण्यकशिपु नरसिंह शिलाको काखमै रहेको प्राकृतिक दृश्य, नरसिंह उत्पत्ति हुँदा फुटेको फटिकको खम्बा, नरसिंह पिता फटिकदेव प्रकट हुँदा बखतको भयानक रूपमा, ५२ हात अग्लो र ५२ हात फेरो भएको नरसिंहको विशाल शिला लाई देख्ने स्पर्श गर्ने गरी  ध्यान (meditation) स्थलको विकास गर्ने ।

·       युवा लक्षित, कार्यविधि कार्यक्रम गरी प्रचारप्रसार गर्न आवश्यक, नरसिंह स्थान र यहाँको विशेषता उजागर गर्न वेब पेज, Facebook, instagram आदि बनाउने

·       मन्दिर निर्माण, संरक्षण, आदिमा योगदान पुर्‍याएका महानुभाव, सरोकारवालालाई सम्मान कार्यक्रम आयोजना गर्ने

·       श्री नरसिंह स्तुति, हिन्दु धर्मका नरसिंह पुराण वाचन कार्यक्रम आदि सञ्चालन गर्ने ।

·       धार्मिक पुस्तक तथा प्रचा बनाई प्रचार प्रसार गर्ने र १ दिनको दर्शन, पुजा र स्थानीय घुमघाम प्याकेज, 3 दिनको होम पुजा प्याकेज तथा ७-१० दिनको ध्यान प्याकेज बनाई देश बिदेशका पर्यटकलाई जति सक्दो आकर्षण र सहजीकरण गर्ने ।

 

दिर्घकालिन रुपमा गर्न सकिने कामहरू

·       दीर्घकालीन सोचका साथ नरसिंह मन्दिरको रणनीतिक योजना निर्माण र कार्यान्वयन गर्ने ।

·       पुस्तकालय, स्थानीय पाठ्यपुस्तकमा समाबेस, डिजिटलमा आधारित बनाई नरसिंह अवतार महाकाव्य, लगायत अन्य धार्मिक पुस्तकको मुख्य स्थल बनाउने ।

·       निर्माण गरिएका होमस्टेहरू विधिवत् रूपमा दर्ता गरी सञ्चालनमा ल्याउने र पर्यटन प्रवर्द्धनमा क्रियाशील बनाउने ।

·       सरकारी तथा गैर सरकारी सङ्घ संस्थाहरूसँग समन्वय र सहकार्य गरी मालारानी गाउँपालिकालाई पर्यटकीय गन्तव्यको सूची बनाउने तथा प्रचार प्रसार गर्ने  ।

·       नरसिंह स्थान मन्दिरको कोषमा रकम स्वैच्छिक  रूपमा दान चन्दा सङ्कलन गरी वार्षिक रूपमा केही रकम गरिब, जेहेन्दार बिद्यार्थीलाइ सहयोग गर्ने, तथा उपचारको अभाब भएका सहयोग गर्न अक्षयकोष स्थापना गर्ने ।

·       देश विदेशमा भएका सबै नरसिंह मन्दिरहरूसंग सम्बन्ध कायम गरि, भगिनी सम्बन्ध कायम गर्ने ।

·       धर्म, शान्ति, स्वास्थ्य, शिक्षा, प्रचार, आदि अभियानको सुरुवात गर्ने स्थलको रुपमा विकास गर्ने ।

·       वार्षिक रूपमा नरसिंह स्थान लगायत धर्म र पर्यटन प्रचारका लागि नरसिंह सम्मेलन गर्ने ।

 

सन्दर्भ सुची

भुसाल, म. (२०७५, फाल्गुन २२). जहाँ भगवान् विष्णुले नरसिंह अवतार लिएका थिए. घटना र विचार. https://ghatanarabichar.com/140455

रासस. (२०८० भदौ ११). धार्मिक पर्यटकको रोजाइमा नरसिंह धाम. OnlineKhabar. https://www.onlinekhabar.com/2023/08/1356973/

चौलागाई, क. (२०७४, कात्तिक २०). जर्मनीको गुफामा भेटियो मूर्ति, देखिन्छ नरसिंह अवतार जस्तै. लोकान्तर. https://lokaantar.com/story/3629/2017/11/6/interesting/category/video

 

 

Comments

Popular posts from this blog

त्यो सेतो हुडी

   त्यो सेतो हुडी मङ्सिर १८ बिहान एक्कासि फोन आयो। “ आज बीपीएच आठौँ सेमेस्टरको अन्तिम दिन हो सर। विद्यार्थीहरूको थेसिसमा साइन गरिदिनु छ। त्यसपछि सानो केक काट्ने र बिदाइ कार्यक्रम पनि छ। ९:३० बजेतिर आइदिनु होला है। ” छोटो , आत्मीय अनुरोध थियो। कलेज पुग्दा विद्यार्थीहरू कार्यक्रम सञ्चालनको तयारीमा व्यस्त थिए। छैटौँ सेमेस्टरका विद्यार्थीहरू आपसमा गाइँगुइँ गर्दै सोधिरहेका थिए “ अशोक सर को हो ?” कार्यक्रम सुरु भयो। मन्तव्य दिनु छ भन्ने थाहा थियो , तर अफिस पुग्ने हतार र औपचारिकभन्दा रमाइलो मुड भएकाले छोटो बोल्ने निधो गरेँ। मेरो मन्तव्यको सार एउटै थियो “If you work hard, you will be prosperous.” यो वाक्य मैले एमपीएचका प्रोफेसर रमेश कानबार्गी सरबाट दसैँको टिकामा पाएको आशीर्वादजस्तै लाग्छ। त्यसपछि बोल्ने पालो आयो—निर्मल सापकोटा सरको। अरूभन्दा अलि लामो मन्तव्यमा उहाँले विद्यार्थीहरूलाई सोध्नुभयो , “ तपाइहरूको फेभरेट सर को हो ?” दिर्घाबाट एक्कासि आवाज आयो— “ अशोक सर! ” म एक छिन त अक्क न बक्क परेँ। त्यसपछि निर्मल सरले प्रसङ्ग खुलाउनुभयो। उहाँले भन्नुभयो: विद्यार्...
link https://l.facebook.com/l.php?u=https%3A%2F%2Fwww.youtube.com%2Fwatch%3Fv%3DlskZXGMvZ9E%26fbclid%3DIwAR0uZSKtXfHVpaJeIK7a_uHKKBFohm9GIhijOr54xiASnjLQ7SZfaBpo2_Y&h=AT2s7ScVrrdVPGpS32kOOC5nOEiT-t1K3E6VuxvV6aXYZe4LtJESoqf22LLvvjfnhLauyelhWhDMmHYc76VHx2NLpgSVOq_nEjn49nEfUiCTPMOJQWBofgB6gOa8NjEPPFja1ddjKd3oRAk-3kf2CqUkzpgXu_0InAujgpG7zFjiTvLtXdqHMzAN8NqcuUZZ8uTrI3f4zs_qvk6Y56aDJc5v-mdBDtX2wH8D-XPnA7_GZUR_x0jehdduh_SpR1bGBbInO-c0EDzmRZJO-Q8sDim-iSwLD2_STBuCvh2fKy_HtVO8g8aB3-8G7FhycsHAFaQD3zmDGRwLvzj4Ko3ElfXhuTRxQ70XoRMGCfDhz4cDTqUpNGOY4TD6TbH3CM5gsjXjL3xK9EUclRrfY2ugZP1cXqh_zRbCZv-gEF98aGUiPUIRvvtCDqzR1t11zte5XSF9R6HDwO75P-Y1SqxsEVnZpny0m27b1HPH8x4IS2RjubgkmHWEJLwtraPRW53OMjC6D97YAEYDk-OM_lPMwLSFCWs4jqA_Rt5blZTy9NMgPUUSmzz81Ys7vsMIeJgl66CxEqcLACk-jog4wrZmSrGIUe5Sqgty2A0H3TknSmveZ8jkKo6ss9S88LrYg1_2ql5JXVtMiwz_56spPJlOA5zpSt8_Lzs3s_yLG1U9cFS5uP0G

Ashok Pandey

  Ashok Pandey , MPH, is an Associate Research Fellow at the Policy Research Institute (PRI) —Nepal’s premier government think tank under the Office of the Prime Minister and Council of Ministers. Specializing in Medical and Health Sciences / Epidemiology and Public Health , his expertise spans health governance, policy research, non-communicable diseases, and health systems research . According to the AD Scientific Index (ID: 6347499) , Dr. Pandey ranks 349,313 globally and 63rd in Nepal , and holds the #1 position within PRI in his discipline. He has an H-index of 25 (total) and 24 in the last five years , reflecting a high proportion of recent impactful work (last 5 years/total ratio: 0.96 ). With nearly 200 publications , over 12,500 citations , and 127,000 reads , Dr. Pandey’s research contributions demonstrate both academic rigor and applied policy relevance. He previously served as Senior Research Officer at the Nepal Health Research Council and is Executive Directo...